Friday, October 13, 2017

रामायण, बाली वध र सीताको आत्महत्याको मर्म

– डा. मुक्ति अर्याल –
रामायणलाई केवल धार्मिक ग्रन्थका रुपमा हेरियो भने त्यसको गुदी थाहा पाउन सकिन्न, अर्थको अनर्थ हुन जान्छ। रामका भक्तहरुले अघिपछि भजन गाउने अनि बालीको कुरा वा उत्तर खण्डमा सीतालाई वनवास पठाउँदाको कुरा आउँदा लज्जित हुनु पर्ने हुन्छ। नास्तिक वा धर्म मान्दिन भन्ने हरुले “आफ्नै श्रीमती माथि अविश्वास गरी वन पठाउने पनि कहीँ मर्यादापुरुष हुन्छ?” भन्ने कुराहरु अाउँछन्। अनि वास्तविकता के हो त? ल आउनुस् एकै क्षण मनन गरौं, छोटोमा।
राम, कृष्ण आदि भगवानका अवतार भनिएका हाम्रा धर्मग्रन्थका पात्रहरु सामाजिक, धार्मिक र राजनीतिक क्रान्तिका अभियन्ता हुन्। रामले विवाहपछिको सुहागरातमै सीतालाई आफ्नो खुट्टा ढोग्न दिँदैनन, अंकमाल गर्छन्। श्रीमतीलाई दासी, भार्या भन्ने मान्यता विपरित श्रीमती भनेको साथी हो भनेर सम्झाउँछन् मात्र होइन एउटा वाचा समेत गर्छन्। आफ्नै पिताको उदाहरण दिँदै राजाहरुले बहुविवाह प्रथा तोड्ने र आफ्नो एक मात्र श्रीमती हुने सपथ खान्छन्। अर्को सामाजिक विद्रोह हो छुवाछुतको विरोध: राम छुवाछुत विरोधी थिए। त्यस्ता कुराहरुको व्याख्या लेखकहरुले कमै गर्छन्। तैपनि सबरीको जुठो फल खानु, नाउ केवटसँग को प्रेम भाव आदिमा देख्न सकिन्छ।

रामायणको अर्को पक्ष हो राजनीतिक पक्ष। रामायणमा राजनीति सबैले नदेख्न पनि सक्छन्। बाली वधको प्रसङ्गमा विशुद्ध धार्मिक रुपले हेर्दा लाग्न सक्छ बाली र सुग्रिवमा के पो अन्तर थियो र। एउटी महिला तारामाथि दुबैले गिद्दे नजर लाउँथे। एउटा राज्य माथि दुई भाइ लड्थे। सुग्रिवलाई काखी च्याप्नु र बालीको वध गर्नु के अर्थ? तर यसमा धार्मिक भन्दा राजनीतिक कुरा लुकेको छ। राम जङ्गलमा थिए, उनलाई रावणमाथि हमला गर्नु थियो र ठूलो शक्तिको आवश्यकता थियो। उनलाई वानर सेनाको साथ चाहिएको थियो। त्यसमा सुग्रिवको समूह राज्यबाट अपहेलित थियो। राम स्वयं भाइलाई राज्य छोडेर वनवास आएका र सुग्रिव पनि भाइले लखेटिएकोले दुबैको कथा मिल्दोजुल्दो थियो। त्यसैले उनलाई बालीसँग मित्रता गांस्नुमा भन्दा सुग्रिवसँग गास्नु उत्तम ठाने। सुग्रिवको सेनालाई आफ्नो पक्षमा ल्याउन सके रामलाई लंका विजय गर्न सजिलो पर्थ्यो। त्यसैले रामले सुग्रिवसँग मित्रता गरे र बालीलाई मारेर आफ्नो मित्र धर्म निभाए। यहाँ बाली अधर्मी र सुग्रिव महान भन्ने कुरा होइन। राम कुशल राजनीतिज्ञ थिए र आफू अनुकूल कदम चाल्न सक्थे भन्ने कुराको प्रमाण हो।
अर्को महत्वपूर्ण र कतिपय रामायणमा उल्लेख नगरिएको पक्ष हो रामायणको उत्तर काण्ड जसमा सीतालाई वनवास पठाइएको छ। जब राम अयोध्याका राजा भए, अत्यन्त कुशल प्रशासक भए “राम राज्य” भन्ने एउटा उदाहरणीय राज चलाए। उनले सामाजिक अन्धविश्वास, छुवाछुत, कुरिती र महिलामाथि हुने भेदभाव देखे र त्यसलाई अन्त्य गराउन प्रयास पनि गरे। सबै कुरा गर्न सकिन्छ तर मान्छेको मन रातारात परिवर्तन गर्न सकिन्न। जतिसुकै राम्रा काम गरे पनि अयोध्यावासीले सीतालाई आफ्नो रानीको रुपमा मनैदेखि स्वीकार्न सकेनन्। राजाले स्वीकारेपछि जनताले स्वीकार गर्नै पर्नु वा अगाडि विरोध गर्न नसक्नु एउटा कुरा हो तर गुप्तचरहरुका अनुसार सीतालाई समाजले स्वीकारेको पाइएन। मर्दका धेरै श्रीमती हुने, राजाका धेरै श्रीमती हुने, श्रीमतीलाई आफ्नो शान र सम्पत्तिको रुपमा हेर्ने समाजमा रामले कुशल शासन त दिए तर जनताको सामाजिक अन्धविश्वास जित्न सकेनन्। बल मिच्याइँ गर्नु एउटा कुरा हो जनताको मन जित्नु अर्को कुरा हो। त्यतिका समय रावणसँग बसेकी कसरी चोखी हुन्छे भन्ने सामाजिक मानसिकताको कुनै औषधी भएन। फलतः राजा जनताको प्रतिनिधि हो। आफूले चाहेको होइन राजाले जनताले चाहेको गर्नु पर्छ (अहिले बेलायत युरोपबाट छुटिए जस्तै) भन्ने मान्यता स्थापित गर्न रानी सीता र आफ्नो सल्लाह र सहमति मै सीतालाई बाल्मिकी आश्रममा पठाइयो।
पछि लव र कुशले अस्वमेघ यज्ञमा गाएको गाइने गीतले सबैको मन पगाल्छ र सीतालाई घर फर्काइन्छ। तर समाजले सीताको चरित्र माथि शंका गर्न छोड्दैन। सीतालाई असह्य हुन्छ। अन्तमा सीताले यो समाज महिलामैत्री छैन, महिलाहरुलाई सुखसँग बाच्ने वातावरण छैन, पुरुषलाई छाडा हुन छुट छ तर जति परीक्षा पास गरे पनि महिलाको चरित्रमा शंका गर्न छोडिन्न भन्दै आत्महत्या गर्छिन्। अब त समाजले चेत्ला कि भन्ने सीताको आशामा अझै तुसारापात नै छ। नेपाल होस् वा उत्तर भारतमा महिलाहरु दिनहुँ प्रताडित छन् चाहे त्यो दाइजोको बहाना होस् चाहे चरित्रहिनको आरोप। यो समाजले रामको भजन गायो तर रामलाई पनि हार खुवायो, सीताको मर्म पनि बुझेन। आउनुस\ तपाईं हामी सीताको मर्म बुझ्न खोजौं।